पिसाब फेर्न पनि नागरिकता चाहिन्छ: प्रदीप गिरि



वीरगन्ज । वीरगन्जमा बिहीबार आयोजित नेपालको संविधान २०७२ मा जनताको अवधारणा तथा राष्ट्रिय बहस र मन्थन कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले इतिहासका कुरा केलाउँदै भारत, अमेरिकालगायत देशको व्यवस्था हेर्न र ती देशका प्रमुख पात्रले गरेका कामबाट सिक्न नेपालका नेताहरुलाई सुझाए ।

गिरिले पचास वर्षअघि राममनोहर लोहिया र जयप्रकाश आनन्द सप्तरी आएको प्रसंग झिक्दै त्यसबेला सरकारले उनीहरुमाथि गरेको दमनबारे जानकारी दिए । उनले विभिन्न पार्टीका प्रमुखलाई समेत संविधान निर्माण गर्दा भएका कमजोरीबारे स्पष्ट पार्न आग्रह गरेका थिए ।

उनले अन्य राष्ट्रको उदाहरण दिँर्द अहिलेको अवस्थाप्रति सन्तोषजनक अवस्था नरहेको बताए । आदर्शनगरको टाउन हलमा आयोजित कार्यक्रममा गिरिले संविधानमा लेखिएको कुरा र हुनुपर्ने कुरामा अन्तर भएको बताए । उनले सत्ता हस्तान्तरण भए पनि राज्य रूपान्तरण नभएको दाबी गरे ।

उनले मधेसकेन्द्ति दलप्रति लक्ष्य गर्दै शोसितहरु राज्य सत्तामा पुगेपछि स्वयं शासकको भावना पलाउन सक्नेतर्फ इंगित गरे । साथै उनले त्यस्ता व्यक्ति वा समूह पनि निरंकुश बन्नेमा आशंका व्यक्त गरे । उनले दुई सय वर्षको यो राजनीतिक यात्रालाई साइकल यात्राको नाम दिँदै त्यसै नहट्ने बताए ।

साथै उनले हरेक क्रान्तिपछिका कथाहरु बुझ्न आग्रह गरे । त्यसका लागि माक्र्सलाई बुझ्न उनले आग्रह गरे । सहयोगीसँगको व्यवहार मानवीय हुनुपर्ने भन्दै उनले नेपोलियनको उदाहरणसमेत दिन भ्याए । उनले अहिलेको विकासको मोडलले पनि समस्या ल्याएको बताए ।

लोकतन्त्रको नाममा गलत प्रयोग हुँदै आएकाले समाज रुपान्तरणमा कठिनाइ भएको उनको धारण थियो । उनले नश्लवादको विषय झिक्दै भारतीय प्रधानमन्त्रीको घट्दो लोकप्रियतामाथि चर्चा गरे । उनले व्यंग्य गर्दै भने, ‘यदि नरेन्द्र मोदीले पाकिस्तान आक्रमण गरे भने, भारतीय जनताको हिरो बन्न सक्छन् ।’ उनले नश्लवादले मधेस गाँजेको बताए । जसले मधेसको विभेदमा परेको उनको विचार थियो । शासकले मधेसको पीडा बुझ्न नसकेकोप्रति उनले रोष प्रकट गरे ।

सोही प्रसंगमा बोल्दै उनले अत्याचार गर्नेभन्दा सहने दोषी भएके बताए । मधेसपक्ष भई बोल्ने क्रममा उनले सिंगो राजनीतिले समाज परिवर्तन गर्न नसक्ने भन्दै त्यसका लागि राजनीति र बौद्धिक नीति दुवै आवश्यक भएको बताए ।

भने, ‘अब मधेसमा हिंसामुक्त आन्दोलन आवश्यक छ ।’ उनले अहिलेको सरकार भयभीत भएको र संविधान संशोधनका लागि अनकनाइरहेको बताए । उनले भने, ‘नागरिकताको कानुन यस्तो बनाइएको छ कि अब पिसाब फेर्न पनि नागरिकता चाहिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्