भारतका पाँच राज्यमा मतगणना, बङ्गालमा त्रिणमुलको अग्रता



नयाँ दिल्ली : भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको हो ।

सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ । मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्रिणमुल कङ्ग्रेसले १७७ तथा भारतीय जनता पार्टीले १०९ स्थानमा अग्रता बनाएका छन् । लामो समय शासन गरेको कम्युनिष्ट पार्टी मार्क्सवादी समेतको गठबन्धनले ४ स्थानमा अग्रता बनाएको छ ।

यस्तै २३४ सिट रहेको तमिलनाडूमा डिएमकेको गठबन्धनले १४१ स्थानमा अग्रता बनाएको छ भने एआइएडिमकेले ८७ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, १४० सिट रहेको केरलामा एलडिएफले ८० तथा युडिएफले ४८ स्थानमा अग्रता बनाइरहेका छन् । असम राज्यमा भने सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धन (एनडिए) अग्रस्थानमा छ । कूल १२६ सिट रहेको असममा एनडिएले ७४ र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन (युपिए) ले ५२ स्थानमा अग्रता बनाएका छन् ।

यस्तै ३० सिट रहेको पुडुचरीमा एनडिएले १५ र युपिएले ८ स्थानमा अग्रता बनाएका छन् । मतगणनाको अन्तिम नतिजा आजै साँझसम्ममा प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्