दैलेखमा मङ्गलबार राति १२ बजेदेखि निषेधाज्ञा



दैलेख : कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

मानिसको आवागमन नरोकिए झनै समस्या बढ्नसक्ने भन्दै बैठकमा छलफल भएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति दैलेखको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । “दुई दिनको अवधि जिल्ला भित्रिने र जिल्लाबाट बाहिर अनिवार्य जानुपर्ने व्यक्तिका लागि दिइएको हो । मङ्गलबारबाट कडाइका साथ निषेधाज्ञा लागू हुन्छ”, प्याकुरेलले भने । निषेधाज्ञा अवधिमा खाद्यवस्तुको सहज आपूर्ति हुने तथा एम्बुलेन्स र बिरामीको उचित व्यवस्थापन हुने बताइएको छ । कसैले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको खण्डमा कडा कारवाहीको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

मध्यपहाडी राजमार्गलगायतका विकास निर्माणका काम भने सामाजिक दूरी कायम गरेर निर्विवाद ढङ्गले सञ्चालन गरिने भएको छ । हरेक पालिकामा भएका ठूला विकासे योजना पनि सहजै सञ्चालन गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्