प्रदेश २ का विभिन्न अस्पतालमा ४ सय १७ दरबन्दी थपिने



जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न अस्पतालका रिक्त पदमा सयौंंको संख्यामा दरबन्दी थप्ने निर्णय गरेको छ । प्रदेश सरकारले विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
प्रदेश २ को मन्त्रिपरिषद बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैयाका अस्पतालका लागी ३२ जनाका दरले दरबन्दी थप्ने निर्णय भएको छ । त्यस्तै लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५–१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बैठकले कोरोना विशेष अस्पतालका लागि एनेस्थेसियोलोजिष्ट देखि लिएर स्वीपर सम्मको दरबन्दी थप गर्ने निर्णय गरेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरेको जनाइएको छ । बैठकले कोरोना महामारीको वस्तुगत अनुगमन गर्नका लागि प्रदेश सरकारका मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ ।
सप्तरी जिल्लाका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागी आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागी उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ । जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि समन्वयको काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्