गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले लिए शपथ



काठमाडौँ । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले सोमबार राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए ।
पौडेल र यादवले संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका भट्टराईले विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् ।
मन्त्रिपरिषद्को सोही बैठकले प्रदेश प्रमुखमा पौडेल र यादवलाई सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार नै राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्