कर्णालीमा पाँच र चितवनमा दुई संक्रमितको मृत्यु



सुर्खेत : कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए । उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताए । त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यसैबीच, भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

क्यान्सर अस्पतालले शुरु गर्यो कोभिड वार्ड
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पु¥याउन सकिने छ । देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उनले बताए । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताए । हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्