धनुषामा एक नगर प्रमुख र ३ उपप्रमुखसँग माओवादीले मागे स्पष्टीकरण



जनकपुरधाम । नेकपा माओवादी केन्द्रले पार्टीलाई बेवास्ता गरेको भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधसँग स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित ३ जना उपप्रमुखसँग स्पष्टीकरण सोधेको हो ।
शहीदनगर नगरपालिकाका नगर उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका नगर उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका नगर उपप्रमुख निलम देवी मण्डललाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै पत्र प्राप्त भएको ३ दिनभित्रमा लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न निर्देशन दिएको सो पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर रहेको छ ।
सो स्पष्टिकरण पत्रमा सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केता पनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्न तेस्र्याउँदै स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र महोत्तरीका अध्यक्ष तुलसीप्रसाद ढुंगानाले सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई समेत अन्य पार्टीको गतिविधिमा संलग्न भएको भन्दै चित्तबुझ्दो स्पष्टीकरण मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्