भारतको सहयोगमा जुम्लामा साना जलविद्युत प्लान्ट पुनर्निर्माण



काठमाडौं । भारत सरकारको सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनर्निर्माण भएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत साना जलविद्युत प्लान्टको उद्घाटन गरिएको हो ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यो जलविद्युत प्लान्ट नेरु. २ करोड ६३ लाख आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो । उक्त प्लान्ट नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा निर्माण गरेको हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।
उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २०,००० मानिसहरु यस प्लान्टबाट लाभान्वित हुनेछन् ।
भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश ६ मा रहेका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्