विश्वासको मत दिन नसक्ने कांग्रेसको जबाब



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतबारे परामर्श गरेका हन् ।
बैठकपछि कांग्रेसका नेता प्रकाशशरण महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पा¥यौं ।’
त्यसपछि ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न आग्रह गरेका थिए । महतले बैठकमा भएका कुराबारे अगाडि भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’
प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको उनको भनाइ थियो । ‘हामी विपक्षमा मतदान गर्ने हो भनेर हामीले प्रष्ट रुपमा भनेका छौँ’, नेता महतले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ गतेका लागि संसदको विशेष अधिवेशन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्