नेपालगञ्ज मेडिकल कलेजमा छैन अक्सिजन, नयाँ भर्ना नलिने



नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजले तत्काल अक्सिजन उपलब्ध नभए ठूलो संकट आउन सक्ने बताएको छ । अस्पतालले अक्सिजन अभावमा थप बिरामी भर्ना गर्न नसकेको जनाएको छ ।
अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालमा हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामीलाई भर्ना गर्न नसकिएको बताए ।
शिक्षण अस्पतालमा हाल एक सय ३३ जना उपचारमा रहेका छन् । सन् २०२१ को सुरुवातदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ सय ३ जना कोरोनाका बिरामी भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भएका छन् । ४४ जनाको मृत्यु भएको छ ।
डा. कनोडियाले तीन सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालनका लागि सम्पूर्ण तयारी भएपनि अक्सिजनको अभावमा सबै बेड सञ्चालन गर्न नसकिएको जानकारी दिए । उनका अनुसार हाल अस्पतालले एक सय ३५ बेडमात्रै सञ्चालन गरिरहेको छ ।
अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरका कोरोनाका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो मानिएको लिक्विड अक्सिजन ट्यांक सकिएको छ ।
अस्पतालले नेपाल सरकारले भारतबाट लिक्विड अक्सिजन ट्यांक यथाशक्य चाँडो उपलब्ध गराइदिएमा तुरुन्तै कोभिडको लागि तीन सय बेड सञ्चालनमा ल्याउने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै कोरोना बिरामीको चाप अस्पतालमा हुने भएकाले हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक ८ सय अक्सिजन सिलिण्डरको आवश्यकता भइरहेको प्रबन्ध सञ्चालक डा. कनोडियाले बताए ।

प्रतिक्रिया दिनुहोस्