रियल मड्रिडलाई हराउँदै चेल्सी फाईनलमा



एजेन्सी : चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे ।

काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन् ।

चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्