यस्तो रहने छ आजको मौसम



काठमाडौँ : आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको उल्लेख छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

दिउँसो देशका केही स्थानमा भने मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेश, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्