कोरियाबाट फर्केपछि एक करोडको लगानीमा पशुपालन



म्याग्दी : स्थानीय एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन् ।

रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गरेका हुन् । गत सालदेखि गाईभैँसी पालन शुरु गरेका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् । गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताए । गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उनले गाईभैँसीपालन शुरु गरेका थिए । रावलले अहिले रु ५० लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताए । आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताए । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् । यसमा उनले रावलले ५० लाख लगानी गरेका छन् । “रु ५० लगानी गरेर गत वर्ष पशु फर्म सञ्चालन गरेँ, अहिले होटल पनि सञ्चालन गर्नुपर्यो भनेर रु ५० लाख जतिको लागतमा व्यवस्थापन कार्य चलिरहेको छ”, रावलले भने । वर्षौँदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उहाँले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ । विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गरेका उनले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताए ।

रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताउँछन् । “युवाले गाउँमा काम गर्न मान्दैनन्, सबै विदेशतिर जान खोज्छन्, गाउँमा काम गर्ने मान्छे पाउन पनि साह्रै मुस्किल छ”, उनले भने । दूध बेचेरै मासिक रु एक लाख कमाउँदै आएका रावलले समयको मागलाई चिनेर राम्रोसँग व्यवसाय गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा विदेशमा भन्दा बढी कमाइ गर्न सकिने बताए । विदेश जाने भनेर हुरुक्क नहुन पनि रावलले युवा पुस्तालाई आग्रह गरे । “महामारी होस् वा अन्य कुनै विपत्ति, आखिर फर्किनुपर्ने त आफनै गाउँमा हो”, उनले भने “अप्ठ्यारो पर्दा मात्र होइन, जोश, जाँगर, उमेर र वर्गत छँदै आफ्नो माटोको सुगन्धलाई चिन्न सक्नु पर्दोरहेछ । नत्र पछि पछुताउनुको विकल्प हुँदोरहेनछ ।”

प्रतिक्रिया दिनुहोस्