सुदूरपश्चिमका प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण



धनगढी : सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले शुक्रबार दिउँसो कार्यालयमा पुगेर यादवले पदभार ग्रहण गरेको जानकारी दिए । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताएका छन् । पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी थिए । खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेका कारण डोटीमा रहेकाले प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागी हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्