कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला पुरै शोकमा डुबेको छ ।
नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार उक्त टोलका एकैघरका तीन दाजुभाइको तीन दिनको फरकमा मृत्यु भएको हो । सिद्धिकीका अनुसार घरका माईला छोरा ४२ वर्षीय जाहिर अहमद हल्वाईको बुधबार कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएको थियो ।
उनको मृत्युले परिवार शोकमै डुबेका बेला त्यसको भोलिपल्टै ४८ वर्षीय अर्का छोरा ईजाज अहमद हल्वाईको मृत्यु भयो । त्यसपछि पनि घरमा मृत्यु हुनेको श्रृंखला रोकिएन । परिवारकै अर्का छोरा ५२ वर्षीय ईन्तियाज अहमद हल्वाईको पनि शुक्रबार मृत्यु भयो । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहान मृत्यु भएको थियो । भेरी अस्पतालमा यही वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो ।
मृतक सबैको मुस्लिम धर्म अनुसार अन्त्येष्टी गरिएको छ । एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको छ । उक्त वडाकै बासिन्दा संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको पनि यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त वडामा अहिलेसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्