ओली र नेपाल–खनाल पक्षीय छलफल निष्कर्षविहीन



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षका नेताहरूबीच बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । दुवै तर्फका प्रभावशाली नेताहरू सहभागी बैठकले कुनै निष्कर्ष दिन नसकेको नेपाल–खनाल पक्षीय नेता योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, विष्णु रिमाल सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र भट्टराई सहभागी थिए ‘पार्टी मिलाउँ भन्ने कुरा सबैको साझा धारणा रह्यो,’ भट्टराईले भने, ‘पार्टी मिलाउने कुराचाहिँ आफ्नाआफ्ना रह्यो । हामीले जेठ २ लाई नै आधार बनाउनुपर्छ भन्ने कुरा राख्यौँ ।’
तर, ओली समूहले जेठ २ मा फर्कने होइन फागुन २८ को निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्छ भन्ने कुरा अघि सारेको भट्टराईले बताए । ‘त्यसमा फेरि छलफल गर्ने र बीचको कुनै विकल्प निस्कन्छ कि भन्ने कुरा भएको छ,’ उनले भने, ‘आज भएको छलफल प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि फेरि बस्ने कुरा भएको छ ।’
प्रधानमन्त्रीले वैशाख २७ गते सदनमा विश्वासको मत लिँदैछन् । सदनको ठूलो दल एमाले नै विभाजित भएकाले ओलीले थप दबाब महसुुस गरेर संवादको ढोका खोलेको नेताहरूले बताएका छन् । बिहीबार र शुक्रबार खनाल–नेपाल समूहका नेताहरूसँग व्यक्तिगत र सामूहिक छलफल गरे पनि मिलन विन्दु भेट्न नसकेको र दुवै पक्ष आ–आफ्नो अडानमा रहेको नेताहरूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्