औषधिमा समेत सरकारले भ्रष्टाचार गर्‍यो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सरकारकै संलग्नतामा कोरोना भाइरसविरुद्धको औषधि (खोप) मा भ्रष्टाचार भएको आरोप लगाएको छ ।
कोरोना संक्रमणको भयावह अवस्था हुँदासमेत सरकार गम्भीर नबनेको बरु उल्टै भ्रष्टाचारमा डुबेर अनैतिक काम गरेको कांग्रेसले बताएको छ ।
सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न माग गरेका छन् । उनले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न पनि माग गरे ।
विज्ञप्तिको पूर्ण पाठ
कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भइरहेको छ । दैनिक हजारौंको संख्यामा कोभिडका बिरामी थप हुँदै छन् । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भएको छ ।
अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन् । कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन ।
हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन ।
विज्ञहरुले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन । सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन ।
समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ ।
यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्णरुपमा जिम्मेवार छ । अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन । जनताको जिवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो ।
जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधि (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु ।
देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु । देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु ।
शेरबहादुर देउवा
सभापति

प्रतिक्रिया दिनुहोस्