जनताको लापरवाहीले संक्रमणको दोस्रो लहर फैलिएको प्रधानमन्त्रीको आरोप



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको दोस्रो लहर जनताको लापरवाहीले फैलिएको आरोप लगाएका छन् । नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको प्रधानमन्त्री ओलीको आरोप छ ।
अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गरे ।
उनले सिएनएनलाई भनेका छन्, ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौँ । मृत्युदर शून्यमा आएको थियो । संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो। तर मानिसहरुले महामारी सकिएको ठाने, लापरवाही गरे । त्यसकारण महामारीको दोस्रो लहर आयो । हामीले अहिले अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ ।’
अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लालेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले नेपालमा हाल कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेको पनि दाबी गरे ।
सर्वसाधारणको लापरवाहीलाई दोष लगाएका ओलीले आफूसहितको उपस्थितिमा भएका विशाल राजनीतिक सभा तथा र्‍यालीहरु अहिलेको संक्रमणका लागि कारक रहेको भने स्वीकार गरेनन् । शुक्रबार एकै दिन नेपालमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ भने अहिले संक्रमण ४० प्रतिशत त्यो भन्दा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्