वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड–१९ अस्पताल बनाइने



काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शैयाको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । त्यसले अरू अस्पतालहरूको पनि समन्वय गर्नेछ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उक्त निर्णय गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘त्यो ५०० शय्याबाट सुरु हुन्छ । पछि विस्तार हुन्छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरूको कमान्ड पनि गर्छ ।’
त्यसका लागि मन्त्रिपरिषद् बैठकले कोभिड– १९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पास गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै त्यस्तो निर्णय लिइएको हो ।
केही दिनअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि देशवासीको नाममा सम्बोधन गर्ने क्रममा त्यहाँ ५०० वटासम्म बेड राखेर उपचार गर्नेे घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्