कैलालीमा छ र बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु



धनगढी : कैलालीमा थप छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप छ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले जानकारी दिए । यस्तै, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको जोशीले बताए । धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए । यसअघि शनिबार नै कैलालीमा नौ जना संक्रमितको मृत्युु भएको थियो ।

यसैगरी बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए । मृत्यु हुनेहरूमध्ये बाँकेका तीन जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष वैशाख २१ गते कोरोना सं‌क्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ८ बजे ज्यान गएको हो । त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई १६ गते नै भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

लम्की चुहा १ का ४३ वर्षीय पुरुषको पनि आइतबार बिहान नै नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ । उनको वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि २० गते नै अस्पताल भर्ना गरिएको थियो । उता, तुलसीपुर ६ दाङ्गका ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । वैशाख १२ गते कोरोना संक्रमण भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि २२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान २ बजे निधन भएको हो । नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्