तटस्थ बस्छौ : देउवा र ओलीलाई ठाकुर र महतोको जवाफ



काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने औपचारिक निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बिहान बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको जसपाका एक नेताले बताए । उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका छन् । ती नेताले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय नितान्त व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने औपचारिक निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’

अध्यक्ष ठाकुरनिकट जसपा नेता डा. सुरेन्द्र झाले जसपाले आधिकारिक निर्णय नगरिसकेकोले केही नेताको धारणालाई मात्रै विश्वास नगर्न देउवालाई आग्रह गरिएको बताए । एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताए । ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र(बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन् । ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएको स्रोतले जनाएको छ । ठाकुर र महतोसँगै गएपछि उपेन्द्र र बाबुरामको भर परेका देउवा झस्किएका छन् ।

यसैबीच, काँग्रेस सभापति देउवासँग भेटेर निस्केका जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । देउवासँग भएको छलफल र भोलिको रणनीतिबारे राजनीतिक छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र ठाकुर तथा महतोबीच बालुवाटारमा छलफल भइरहेको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई विश्वासको मतका बारेमा के निर्णय लिनुभयो भनेर सोधेका थिए । जवाफमा दुवै जनाले विश्वासको मत दिन नसकिने र तटस्थ बस्ने बताएका थिए । हाम्रो मुद्दा अझै सम्बोधन भएको छैन, त्यसैले मुद्दुा सम्बोधन भएमात्रै केही गर्न सकिन्छ, तर जसपाले कसैको पक्षमा मत नदिने बरु तटस्थ बस्ने अवस्था आएको जवाफ प्रधानमन्त्री ओलीलाई दिएको महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्