मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पुनः दर्ता



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पुनः दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि दर्ता भएको अविश्वास प्रस्ताव पेश हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख यादवले उनको राजीनामा स्वीकृत गरी बहुमत दलको हैसियतमा पुनः पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले बताए । हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्