लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिश



काठमाडौं : संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

झापा गौरादह–३ का रेग्मी पूर्वसचिव रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई संवैधानिक आयोगको अध्यक्षमा नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिरेको टिप्पणीसमेत गर्दछन् । परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमा पूर्वसचिव डा. हरि पौडेल र दिलीप रेग्मीलाई सिफारिस गरेको बताइएको छ । यस्तै निर्वाचन आयोगको रिक्त सदस्यमा डा. वीरबहादुर राईलाई सिफारिस गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्