जसपाका शीर्ष ६ नेताको बैठक बस्दै



काठमाडौँ : जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ नेताको बैठक बस्न लागेको एक नेताले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको ब्रिफिङ र थप आगामी रणनीति तय गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो ।

आइतबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने जवाफ ठाकुर र महतोले दिएका छन् । यस्तै, देउवाले ओलीलाई विश्वासको मत नदिन र त्यसपछि बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । देउवालाई पनि ओलीलाई विश्वासको मत नदिने जवाफ दिएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । जसपामा हाल ३२ जना सांसद रहेका छन् । विपक्षीमा रहेका कांग्रेस, माओवादी विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यसअघि दुई धार देखिएको जसपाले ओलीलाई मत नदिए र तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत पाउने सम्भावना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्