महिला तथा बालबालिका हराउने क्रम बढ्दो



लमजुङ : जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।

चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार हराएकामध्ये २९ जना महिला, एक बालक, नौ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । त्यस्तै, अझै २४ महिला र पाँच बालिका भेटिएको छैन । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको यस सेवा केन्द्र प्रमुख अधिकारीको भनाइ छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७६/२०७७ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन÷तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै,ती हराएकामध्ये ४२ महिला, १४ बालिका, तीन बालक र दई ज्येष्ठ नागरिक फेला परेका छन् । हराएकामध्ये अझै २२ महिला, २ दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५/२०७६ मा एकसयचार महिला तथा बालबालिका हराएका थिए । यीमध्ये ७२ महिला, छ बालक, २६ बालिका रहेका छन् । ती मध्ये ५४ महिला, ४ बालक र २२ बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, १८ महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४/२०७५ मा ८० जना महिला तथा बालबालिका हराएको प्रहरीको तथ्यांकमा रहेको छ । यीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, छ बालक र छ बालिका फेला परेका थिए भने, २७ महिला, छ बालक र १२ बालिका भने भेटिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७३/२०७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । त्यस्तै सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । तीमध्ये २२ महिला, १२ बालक र छ बालिका फेला परेको प्रहरीको तथ्यांकमा रहेको छ ।

प्रहरी तथा सम्बन्धित निकायले महिला तथा बालबालिका र ज्येष्ठ नागरिक हराउने संख्या न्यूनिकरण गर्नका लागि विभिन्न रोकथामका प्रयास, संचेतनामूलक कार्यक्रम गरेपनि कमी आउन नसकेको प्रहरीले जनाएको छ । यसका लागि समाजका नागरिक नै शिक्षित भएर सचेतना फैलाउने र आफ्ना परिवारका सदस्य र समाजका आफन्त तथा छिमेकीहरुको रेखदेश राम्रोसँग गर्न सकेमा यसरी हराउने संख्यामा कमी आउने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्