६ जनाको मृत्यु पछि टीकापुर अस्पतालले भन्यो-स्थिति नियन्त्रण बाहिर छ



कैलाली । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या छ पुगेको छ । टीकापुर नगरपालिका–१ का ४५ वर्षका एक पुरुषको आइतबार मृत्यु भएको हो । उनलाई थप उपचारका लागि अन्यत्र लैजाने क्रममा एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि बितेको २४ घण्टामा अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिकाका ३ र जानकी गाउँपालिकाका २ जना छन् ।
अस्पतालकाअनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको मृत्यु भएको हो ।
चिकित्सकका अनुसार अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ । अनियन्त्रित रुपमा बिरामीको चाप बढेपछि अस्पतालमा उपचारको निकै समस्या भएको कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले जानकारी दिए । उनले थुप्रै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको बताए ।
‘स्थिति हाम्रो नियन्त्रण भन्दा धेरै बाहिर गइसक्यो’, उनले भने, ‘स्रोतले नभ्याउने अवस्थामा पुगेका छौं ।’
अस्पतालमा अहिले ५०÷६० जना उपचाररत छन् । उनीहरु सबैलाई अक्सिजनको आवश्यकता छ । अस्पतालकाअनुसार कतिपय बिरामीलाई अक्सिजन दिन सकिएको छैन । धेरैजसो बिरामीलाई अब दोस्रो पटक अक्सिजन थप्न सकिने अवस्था छैन ।
अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत अपिल गर्दै अस्पतालको अवस्था भयावह बन्दै गइरहेको उल्लेख गरेका छन् ।
दोस्रो चरणको कोरोना फैलिएपछि अस्पतालमा हालसम्म १४ जनाको मृत्यु भएको छ । अस्पतालमा एकपछि अर्को व्यक्तिको मृत्यु भएपछि त्रास फैलिएको छ । अस्पतालमा फिजिसियन र एनेस्थेसिया चिकित्सकको अभावमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसियु) सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्