लुकाएर राखिएका ७ सय थान अक्सिजन सिलिन्डर बरामद



काठमाडौँ : प्रदेशका दुईका विभिन्न जिल्लामा व्यक्ति तथा उद्योगले लुकाएर राखेका ७ सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको छ । प्रदेश अन्तर्गतका उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखिएको १३२ थान अक्सिजन भरिएको सिलिन्डर र ५६८ थान खाली सिलिन्डर प्रहरीले बरामद गरेको हो ।

पछिल्लो तीन दिनभित्र उक्त संख्यामा अक्सिजन सिलिन्डर बरामद गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । बरामद गरिएका ती अक्सिजन सिलिन्डरलाई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक डिस्ट्रीब्युटरलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने काम गरिएको उनले बताए ।

धनुषा, महोत्तरी, बारा, रौतहट लगायतका जिल्लाहरूबाट लुकाइरहेका अवस्थामा अक्सिजन सिलिन्डर बरामद गरिएको हो । एसपी प्रसाईंले अब त्यस्ता काममा कति मानिसहरू संलग्न थिए, त्यसको एकिन गरेर उनीहरू विरूद्ध संक्रमण रोकथाम तथा नियन्त्रण ऐनअनुसार कारबाही समेत गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्