फेरि छलफलमा जुट्ने गरी सकियो नेपाल र ओली समूहबीचको वार्ता



काठमाडौँ : नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, ‘पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।

छलफलपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै ओली समूहका नेता विष्णु पौडेलले वरिष्ठ नेता नेपालले राजीनामाबारे आफूहरुले विचार गर्ने वचन दिएको बताएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेताहरु नेम्वाङ र पौडेललाई खटाएका हुन् ।
’पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच छलफल भएपछि हामीलाई यहाँ पठाउनु भएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं’ नेता नेम्वाङले भने ।

प्रतिक्रिया दिनुहोस्