नेपाल सुपर लिग : फाइनल पुग्न ललितपुर र काठमाडौँ भिड्दै



काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौँविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौँरेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ । लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए । भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए ।

पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौँविरुद्ध सोही नतिजा दोहर्‍याउने कोशिश गर्नेछ । उपाधिको बलियो दाबेदार काठमाडौँ समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।

ललितपुरविरुद्धको खेलमा म्यान अफ दी म्याच चुनिएका सन्जोक राई र इमर्जिङ प्लेयर बनेका विश्वास श्रेष्ठबाट काठमाडौँले राम्रो प्रर्दशन चाहेको छ । इलिमिनेटर राउण्डमा पुगेको ललितपुरले पर्याप्त आराम भने पाएको छैन । २४ घण्टा नबित्दै दोस्रो खेलमा उत्रन ललितपुरलाई गाह्रो पर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्