मुस्लिम धर्मावलम्वीले आज रमजान पर्व मनाउँदै



काठमाडौँ : मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान आज । यो पर्वलाई इद–उल–फित्र पनि भनिन्छ । १ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाउँछन् ।

अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु, गरिबको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इद (इद–उल–फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाइन् ।

यस्तै, इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना व्यक्त गरेका छन् । उनले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्