निषेधाज्ञाबीच घरघरै इद र अक्षय तृतीया



जनकपुरधाम : इस्लाम धर्मावलम्वीले आफ्नो मुख्य चाड इद–उल–फितर (बोलीचालीमा इद भनिने) र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व आज शुक्रबार एकसाथ मनाउँदैछन् । कोभिड–१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र प्रदेश २ का सबै बस्तीमा इस्लाम धर्मावलम्बी र हिन्दूले घरपरिवारभित्र चाड मनाइरहेका छन् ।

इस्लाम धर्मावलम्बीहरु आज आआफनै घरमा इदको नमाज (प्राथना) अदा (समर्पण) गर्दै पर्व मनाउँदैछन् । वैशाख–१ गते नयाँ वर्षकै दिन यसपालि हिजरी सम्बतको रमजान (रमदान) महिना शुरु भएको थियो । प्रारम्भका केही दिन मस्जिदमै नमाज गर्दै रोजा (व्रत) थालेका इस्लाम धर्मावलम्वीले वैशाख–१० यता कोविड–१९ सङ्क्रमण देखिन थालेपछि रमजानको नमाज पनि घरघरै गर्न थालेका थिए । हिजरी सम्वतको रमजान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि जिल्लाका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को माहामारी रोकथामका लागि घरघरै गरेका हुन् । रमजान महिना समाप्त भएर हिजरी सम्बत्को १० औं महिना सब्बाल शुरु भएको दिन इद मनाउने इस्लाम परम्परा छ ।

इस्लाम परम्परामा रमजान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाई रोजा बस्ने र ब्रह्मचर्यमा रहने धार्मिक परम्परा छ । प्रत्येक दिन बिहान ४.५ बजेअघि ‘सेहरी’ (सामूहिक रुपमा खाइने बिहानको खाजा) र साँझ ६.३५ बजेपछि ‘इफ्तार’ (साँझको नमाजपछि खाइने खाजा) लिने गरिन्छ । ‘सेहरी’ र ‘इफ्तार’ तथा दिनभरि पाँच पटक अल्लाह (ईश्वर) को पुकारा गरिने ‘नमाज’ सामूहिक रुपमा गरिने यसअघिको परम्परा भएपनि यसपालि पुनः कोभिड–१९ को सन्त्रासले घरघरै आफ्ना परिवारका सदस्यबीच मात्र रमदान सम्पन्न गरेर इस्लाम धर्मावलम्वीले आज इद मनाइरहेका हुन् । इस्लाम परम्परामा रमजान महिनाभरि रोजा र नमाज गर्दै अन्त्यमा ईद–उल–फित्र पर्व मनाउने गरिन्छ । रमजानमा आफ्नो आम्दानीको २.०५ प्रतिशत गरीब दुःखीका लागि इद मनाउन ‘जकात’ छुट्याउने परम्परा छ । यसपालि यो ‘जकात’ कोरोना रोकथाम कोषमा अझ बढी मन फुकाएर जम्मा गर्न जिल्लाका इस्लाम धर्मगुरुहरुले अपिल गरेका जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका ८५ वर्षीय इस्लाम धर्मावलम्बी हाजी बिहारी अन्सारी बताउँछन् ।

यसैगरी आजै वैशाख शुक्ल त्रितीयाका दिन हिन्दू धर्माबलम्बीहरु अक्षय त्रितीया पर्व मनाउँदैछन् । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत खुवाउने मिथिलामा परम्परा छ । पर्वका दिन धेरै मानिसको आवतजावत हुने बाटोमा बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू मैथिल परम्परा रहे पनि अहिले निषेधाज्ञाले गर्दा घरपरिवारभित्र नै यो पर्व मनाउँदैछन् । यस पर्वमा गरीब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको छ । अक्षय त्रितीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख रहेको छ । भगवान शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूल पुरोहित तथा गरीबहरुलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र बस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको छ । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिबद्र्धक अन्न जौको सातुको प्रयोगमा अक्षय त्रितीया पर्वले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्