गाउँपालिका प्रमुख साहद्वारा अग्निपीडितलाई राहत वितरण



अनिल यादव/रौतहट : स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीको दलित बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट स्थानीय गगनदेव राम, बुधन राम र सतलाल रामसहित छ जनाको घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

घरमा राखिएको भुसमा इलेक्ट्रिक सर्टले लागेको आगो सल्केर एकपछि अर्काे गर्दै छ जनाको घरमा आगो लागेको थियो । आगालागीबाट लाखौंको क्षति भएको छ । आगो सल्किैदै गएपछि स्थानीय वासिन्दा र प्रहरीको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

यसैबीच, आगलागी पीडितलाई गास, बास र कपासको समस्या भएपछि गाउँपालिकाले राहत वितरण गरेको छ । पीडितलाई तत्काल बास र खाद्यान्नको आवश्यक भएको भन्दै गाउँपालिकाका प्रमुख अरुणकुमार साहले खाद्यान्न सामग्री, त्रिपाल र जस्तापाता लगायतका सामग्री प्रदान गरेका छन् । त्यस क्रममा उनले आगलागीबाट पूर्ण क्षति भएका परिवारलाई ४० हजार र आंशिक क्षति भएकालाई २० हजार रुपैया सहयोग रकम उपलब्ध गराउने वचन दिए ।

प्रतिक्रिया दिनुहोस्