सर्लाही झडप प्रकरण: कांग्रेसले दियो कडा चेतावनी



सर्लाही : कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामनगर घटनाको दोषी तुरुन्त पत्ता लगाएर कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले नेकपाका कार्यकर्ताले सत्ताको आडमा उद्दण्ड मच्चाएको आरोप लगाए ।

सर्लाहीको रामनगर गाउँपालिका–४ बौहर्वामा मंगलबार नेकपाका कार्यकर्ताको आक्रमणमा परी कांग्रेसका कार्यकर्ताको मृत्यु भएको भन्दै कांग्रेसले सदरमुकाम मलंगवामा आयोजना गरेको विरोधसभामा निधिले यस्तो चेतावनी दिएका हुन् । निधिले रामनगरमा दिनदहाडै भएको घटनामा प्रहरी–प्रशासन गम्भीर नबनेको आरोप लगाए ।

उनले कुनै पनि बहानामा स्थानीय प्रशासन र सरकार दोषी उम्क्याउन जालझेल गरे प्रदेश २ मा आन्दोलनको आँधीबेहरी नै ल्याउने बताए । ‘सरकारको संरक्षणमा सत्तापक्षका कार्यकर्ताबाट निरन्तर कांग्रेस कार्यकर्तामाथि आक्रमण भइरहेको छ,’ उनले चेतावनी दिँदै भने, ‘तर अपराधी कानुनको दायरामा ल्याइएको छैन, यस्तै रवैया रहे सरकारको दुर्दशा सुरु हुन्छ ।’

विपक्षी कार्यकर्तालाई गोली हानेर हत्या गर्ने लगायत मुलुकमा अराजकता सिर्जना गर्न जनताले दुईतिहाइ बहुमत नदिएको उल्लेख गर्दै यस्तो रबैया रहे सरकारको दिनगन्ती सुरु हुने निधिको चेतावनी थियो ।

मृतकका परिवार एवं घाइतेहरूले ४ नाल बन्दुकसहित भाला, लाठीले आक्रमण गर्नेहरूको किटानी नाम दिँदा समेत स्थानीय प्रहरी प्रशासनले दोषीमाथि कारबाही नगर्नु विडम्बना भएको उनले बताए । 

पूर्वगृहमन्त्रीसमेत रहेका निधिले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल प्रहरीका प्रदेश २ प्रमुख डिआईजी हरिबहादुर पाल, सशस्त्र प्रहरीका डीआईजी कवीन्द्रमान श्रेष्ठ लगायतलाई घटनाबारे यथाशीघ्र परिणाम दिन निर्देशन दिँदै माग पूरा नभए कडा संघर्षको सामना गर्न समेत चेतावनी दिए । आजको कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्