चाँगुनारायणमा सय बेडको आइसोलेसन वार्ड तयार



काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा एक सय श्ययाको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ ।
होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको सहयोगमा एक सय श्ययाको आइसोलेसन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए । आइसोलेसनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका एक सय सेट सरकारले नै उपलब्ध गराएको थियो ।
गत वर्ष कोरोना सङ्क्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा श्यया राखेको थियो । पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले श्यया हटाई सामान सबै गोदाममा राखेको थियो । यस वर्ष त्यही शैया विस्तार गरिएको हो । कलेजको आइसोलेशनमा होम आइसोलेसनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ । आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताए ।
नगरपालिकाले होम आइसोलेसनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ । नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्