अक्सिजन उद्योगलाई विद्युत्मा आधा शुल्क मिनाहा गरिने



काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगलाई विद्युत् शुल्क आधा छुट दिन सिफारिस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा सीसीएमसीको आइतबार बसेको बैठकले मन्त्रिपरिषद्लाई विद्युत् छुट दिनको लागि सिफारिस गरेको ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए ।
उनका अनुसार यो सिफारिस मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषद्बाट निर्णय भएलगत्तै कोभिड–१९ संकट हुञ्जेल अक्सिजन उद्योगलाई विद्युतको डिमाण्ड शुल्क र इनर्जी शुल्कमा आधा छुट हुने मन्त्री रायमाझीले बताए । ‘देशभरका जति पनि उद्योग छन् तिनलाई संकट रहुञ्जेल छुट दिन सिफारिस गरिएको छ,’ उनले भने,‘अक्सिजन उत्पादनमा प्रोत्साहनको लागि यस्तो सिफारिस गरिएको हो ।’
उनका अनुसार पशुपति विकास कोषको विद्युतीय शव गृहमा प्रयोग हुने विद्युतमा पनि आधा छुट दिने निर्णय भएको छ । विद्युतीय शव गृहमा बिग्रिएको एउटा मेशिन पनि मन्त्रालयको पहलमा मर्मत गरिएको उनले जानकारी दिए ।
यसअघि नै नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उद्योगमा निरन्तर विद्युत् आपूर्तिमा सहयोगको लागि कार्यदल गठन गनुका साथै वैकल्पिक लाइनहरु समेत व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्