राष्ट्रियसभा उपनिर्वाचन : मतदाताले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने



काठमाडौँ : निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्थामा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । आयोगका अनुसार उक्त मापदण्ड अनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गरिने छ ।

मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पिसिआर रिपोर्ट देखाइ साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने आयोगले प्रस्ट पारेको छ ।

कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरू सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

आयोगका अनुसार मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस सिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने छ ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरु उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्