लुम्बिनीका चार जसपा सांसदको रिटउपर सर्वाेच्चमा सुनुवाइ



काठमाडौं : लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले दायर गरेकका रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यो रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि जसपाका उपेन्द्र यादव समूहले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुलाई निस्कासनको निर्णय गरेको थियो । यादवकै निर्देशनपछि लुम्बिनी प्रदेश जसपाले निस्कासनको निर्णय दिएपछि प्रदेश सभाका सभामुखले चार सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पदमुक्त गरेको थियो । सांसदबाट पदमुक्त गरिए पनि उनीहरु प्रदेश सरकारमा मन्त्री भने छन् । उनीहरुको पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको भन्दै जसपाकै प्रथम अध्यक्ष महन्थ ठाकुरले पदमुक्तको निर्णय खारेजी हुनुपर्ने विज्ञप्ति निकालेका थिए । ठाकुरकै निर्देशनमा चारै जनाले मुख्यमन्त्री पोखरेललाई समर्थन गरेका थिए ।

लुम्बिनीमा काँग्रेस, माओवादी केन्द्र र जसपाले पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका थिए । त्यसमा जसपाका छ जना सांसदले हस्ताक्षर गरेका थिए । तर अविश्वासमा हस्ताक्षर गरेको केही घण्टा नबित्दै चार जनाले पोखरेलको पक्षमा हस्ताक्षर गर्दै मन्त्री पदको शपथ लिएका थिए । त्यसपछि जसपाको यादव समूहले कारबाही गरेको थियो । त्यस कारबाहीविरुद्ध चारै जना सांसदले आइतबार सर्वाेच्चमा रिट दायर गरेका थिए । जसपा केन्द्रीय कार्यकारिणी समितिको नक्कली निर्णयको आधारमा आफूहरुलाई कारबाही गरिएकोले पदमुक्त गर्ने निर्णय खारेज गरी पूर्ववत रुपमा कामकाज गर्न आदेशको माग उनीहरुले रिटमा गरेका छन् ।

सोमबार न्यायाधीश सुवेदीको इजलासमा त्यो रिट दोस्रो नम्बरमा परेको छ । पहिलो नम्बरमा परेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सकिएलगत्तै चार सांसदको रिटमा सुनुवाइ हुनेछ । त्यसको बहस सकिएपछि आजै आदेश आउने सर्वाेच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्