सर्लाहीमा समन्वयको अभाव, उपचारमा समस्या



सर्लाही : कोरोनाको सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरुले थप चासोका साथ व्यावस्थापकीय काम शुरु गरेका छन् । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरुले कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलियोस् भनेर उच्च सतर्कताका साथ व्यावस्थापकीय काम शुरु गरेका हुन् ।

लालबन्दी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना सङ्क्रमितका लागि उपचारका गर्न भन्दै अक्सिजनसहितका ३० वटा शय्या तयारी अवस्थामा राखिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले पिसीआर परिक्षणका लागि स्वाब सङ्कलन, आरडिटीबाट परीक्षण, रुघाखोकी, ज्वरोको उपचार सेवा उपलब्ध गराउँदै आएको छ । चौबिसै घण्टा स्वास्थ्य सेवा प्रवाह गरिरहेको यस स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा पिपिई, मास्क, स्यानिटाइजर, फेस सिल्ड र पञ्जाका साथै आवश्यक मात्रामा औषधिको अभाव रहेको चिकित्सकहरुले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना चिकित्सकसहित १४÷१५ जना कर्मचारी कार्यरत छन् । केन्द्रबाट आकस्मिक सेवा, गर्भपतन सेवा, बहिरङ सेवा, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, इसिजी र टिबी रोगको विशेष परीक्षण प्रयोगशाला समेत सञ्चालनमा रहेको छ ।

स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख डा प्रगति रानाले लालबन्दीमा कोरोना सङ्क्रमितहरुको उपचार समेत भइरहेको अवस्थामा अक्सिजनसहितका अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरुको अभावका कारण सेवा प्रवाहमा समस्या आएको बताए । मागफारम भरेर नगरपालिकालाई बुझाएको भएपनि आवश्यक मात्रामा स्वास्थ्य सामग्री र औषधिहरु पाउन नसकेको उनको भनाइ छ । यता सो केन्द्रबाट कुनै माग भइ नआएकाले औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्