कोरोनाविरुद्ध स्थानीय तह सक्रिय बनौ : भट्टराई



ताप्लेजुङ : नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गरेका छन् ।

कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले सङ्क्रमणको रोकथामका लागि स्थानीय स्तरबाट हुन सक्ने सबै किसिमका गतिविधि सञ्चालन गर्न आग्रह गरे । सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेकाले आइसोलेशन निर्माण गर्नेदेखि लिएर यसबाट बच्ने उपायका सन्दर्भमा घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको समेत उनको भनाइ छ । प्रत्येक वडाका वडाध्यक्षले आफ्नो नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार गरी घरघरमा गएर सङ्क्रमणबाट बच्ने उपायका सन्दर्भमा जानकारी गराउन सके नागरिक सङ्क्रमणबाट बच्न सक्ने बताए ।

अहिलेको परिस्थितिमा आवश्यक बजेट व्यवस्थापन गरी आइसोलेशन निर्माणलगायत कोभिडको रोकथामका लागि अन्य कार्यक्रम बन्न सके भयाभव अवस्थाबाट बच्न सकिनेमा उनको विश्वास छ । यस्तै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्यका कर्मचारीलाई लिएरसमेत काम गर्न सकिने पूर्वमन्त्रीसमेत रहनुभएका उनले बताए । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि एकीकृत आइसोलेशन निर्माण, छिटोछरितो रुपमा परीक्षण, स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनलगायतमा प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्