राजविराज अस्पतालमा अक्सिजन अभाव



राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव भएको छ । भएका सिलिन्डर रितिँदै गएको र दुहबीस्थित डिपोमा खाली सिलिन्डर भर्न जाँदा तीनदिनपछि मात्र दिन सक्ने बताएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए ।
डा. झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा एक सय १० वटा अक्सिजन सिलिन्डर छन् । तीमध्ये ७० वटा खाली भइसकेको छ । बाँकी रहेका सिलिन्डरबाट बिरामीलाई अक्सिजन उपलब्ध गराइरहेको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भने,‘अहिले अस्पतालको आइसोलेसनमा रहेका तर अक्सिजन नलगाएकाहरुलाई पनि अक्सिजन दिनु परे आवश्यक पर्न सक्छ ।’ अस्पतालले अहिलेसम्म इटहरी र दुहबीबाट अक्सिजनको आपूर्ति गर्दै आएको थियो । ‘अक्सिजनको अवस्थाले तनाव बढाएको छ,’ डा. झाले भने,‘व्यवस्थापनमा सहयोग गरिदिन जनप्रतिनिधि र राजनीतिक नेतृत्वलाई अनुरोध गर्दछु ।’
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एचडीयुमा २५ जना,आकस्मिक कक्षमा २० जना र साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा रहेको कोभिड अस्पतालमा १६ जना कोरोना संक्रमित चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । ‘अस्पतालमै उपचार गराइरहेका ६१ मध्ये ४७ जनालाई अक्सिजन आवश्यक भए अनुसार लगाइएको छ,’ डा. झाले भने,‘तत्काल अक्सिजन व्यवस्था भएन भने ठूलो खतरा हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्