महन्थ–उपेन्द्र सहमति भाँडियो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलबार भएको सहमति केही घण्टामै भाँडिएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवबीच वरिष्ठ नेता राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको थियो । तर दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् ।
सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन् ।
अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी मंगलबार नै सचिवालयलाई जानकारी गराएका छन् ।
सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।
केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । अध्यक्ष उपेन्द्र यादवले भने उक्त निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्