जसपा संसदीय दल चयनमा विवाद तीव्र



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीमा अहिलेसम्म कोहि पनि संसदीय दलको नेता चयन नभएको जानकारी संसद सचिवालयलाई दिएका छन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको भनी संसद सचिवालयमा पत्र दर्ता भएको केहि बेरपछि यादव पक्षले सो रोक्नका लागि पहिले नै अर्को पत्र दर्ता भएको जनाएको छ ।
यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रमा पार्टीको छाप र लेटर प्याडको दुरुपयोग भएको बताएका छन् । यादवले आफ्नो पार्टीबाट कोही पनि संसदीय दलको नेता नभएको पत्र सचिवालयमा पठाएका छन् ।
यादवले पत्र नक्कली भएको दाबी गर्दै त्यो आधिकारीक नभएको र र अर्को पत्र संसद सचिवालयमा पठाएको जानकारी दिए ।
संसदीय दलको बैठक नबसिकन संसदीय दलको नेता चयन भएको भनेर पत्र पठाउनु जाली काम भएको समेत उनले बताए । उनले यसबारेमा जेठ ८ र ९ गते बस्ने कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने बताए ।
मंगलबार अध्यक्ष ठाकुरको नाममा लिखित अर्को पत्र संसद सचिवालयमा दर्ता गरिएको थियो। सो पत्रमा महतोलाई संसदीय दलको नेता चयन गरिएको उल्लेख छ ।
जसपा अध्यक्ष ठाकुरले आफ्नो मात्रै हस्ताक्षर गरेर संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संसद सचिवालयलाई पठाएका थिए । यादवले यसअघि आइतबार नै संसद सचिवालयमा पत्र दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्