एमाले कार्यदल बैठक : अन्तरविरोध सिर्जना नगर्न आह्वान



काठमाडौं । नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यदल बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने, पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा विश्वास, सहयोग र अन्तरविरोध सिर्जना हुने कामकुरबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको हो ।
आइतबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पाँच–पाँच सदस्यीय कार्यदल बनाएका हुन् । अध्यक्ष ओली समूहको कार्यदलको नेतृत्व पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाएका छन् भने नेपाल समूहको कार्यदलको नेतृत्व पार्टी उपाध्यक्ष भीम रावललाई दिइएको छ ।
नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताको छलफलले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेता ओली र नेपाललाई दिएको थियो ।
एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ । ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।
सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो ।
बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको नेता भीम रावलले जानकारी दिए ।
‘पार्टीमा देखिएको समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग, सद्भावका लागि आग्रह गरेको छ,’ बैठकपछि रावलले भने, ‘त्यसका साथसाथै पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्