राष्ट्रिय फुटबल टोली घोषणा



काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन् । जहाँ थ्री नेसन्स कप उपाधि जित्ने टोलीका अधिकांश सदस्य परिवर्तन गरिएको छ ।
१३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले उक्त टोलीका १० खेलाडी मात्र राष्ट्रिय टोलीमा राखेका छन् । यसअघि प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा ३२ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्सका कुनै पनि खेलाडी सूचीमा समावेश थिएनन् ।
थ्री नेसन्स कपका दौरान रेजर्समा आबद्ध ५ खेलाडी राष्ट्रिय टोलीमा थिए । प्रशिक्षक अलमुताइरीले अभ्यासका क्रममा भएको प्रदर्शनलाई आधारमा खेलाडी छनोट गरेको बताए ।
फरवार्ड नवयुग श्रेष्ठ, आशीष लामा र सुमन लामासँगै मिडफिल्डर सन्तोष तामाङ र पुजन उपरकोटीले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीको अन्तिम २३ मा पर्न सफल भए । मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीको छनोटमा परे ।
राष्ट्रिय टोलीले २९ मेमा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपालले जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकप छनोट अंक तालिकामा ३ अंक जोड्दै नेपाल चौथो स्थानमा छ । ५ खेलमा १ जित र ४ हार ब्योहोरेको छ । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०÷१० अंक रहँदा चाइनिज ताइपेई जितविहीन छ ।
यस्तो छ नेपाली टिम
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डरः अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा, सुमन लामा

प्रतिक्रिया दिनुहोस्