मौसम : आज र भोलि यी स्थानमा ठूलो वर्षाको सम्भावना



काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी छ । अझै ३ दिनसम्म वर्षा/हिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । महाशााखाले आज बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ । दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

यसैगरी दिउँसो उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना छ । आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाको मात्रा भोलि अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद्का अनुसार भोलि बिहीबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । थोरै स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा अति भारी वर्षासमेत हुने सम्भावना छ।

बिहीबार राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । थोरै स्थानमा भारी वर्षा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा अति भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षासँगै बढी तथा पहिरोको सम्भावना रहने हुँदा सावधानी अपनाउन पनि महाशाखाले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्