देशका अधिकांश स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौँ : देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको रहेको छ । देशका हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्