काठमाडौंमा नयाँ एयरलाइन्सलाई अनुमति बन्द



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै पनि विमान कम्पनीले जहाज भाडामा ल्याउँदा चालक दलका सदस्यलाई पनि भाडामा ल्याउन नपाउने नीतिगत व्यवस्था गरेको छ। प्राधिकरणले चालक दलका सदस्यसहित विमान भाडामा ल्याइएको अवस्थामा वायुयान सञ्चालन प्रमाण पत्र नपाउने व्यवस्था गरेको छ।

प्राधिकरणले यसअघि व्यवहारिक रुपमा चालक दलका सदस्यसहित विमान भाडामा ल्याएको अवस्थामा सञ्चालन अनुमति पत्र नदिने गरे पनि नीतिगत व्यवस्था भने गरेको थिएन। तर, प्राधिकरणले पहिलो पटक नीतिगत रुपमा नै चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउन नपाउने व्यवस्था गरेको हो।

‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

नेपालको हवाई इतिहासमा निजी हवाई सेवा प्रदायक कम्पनीले चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने नगरेपनि नेपाल वायु सेवा निगमले भने सुरुवाती चरणमा चालक दलका सदस्यसहित नै जहाज भाडामा ल्याएको थियो। चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने प्रणलीलाई ‘वेट लिज’ भनिन्छ। तर, विमान कम्पनीले चालक दलका सदस्यबिना जहाज भाडामा ल्याउनुलाई ‘ड्राई लिज’ भनिन्छ।


काठमाडौं विमानस्थलमा नयाँ एयरलाइन्सलाई अनुमति बन्द

प्राधिकरणले मौखिक रूपमा ६ महिना अगाडिदेखि नै नयाँ एयरलाइन्स कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण अनुमति नदिने घोषणा गरेको थियो। तर, अनुमति प्रक्रियामा मन्त्री तथा नेताको उच्च दबाव रहेपनि प्राधिकरणले नीतिगत रूपमै काठमाडौं विमानस्थललाई आधार बनाएर उद्गम वा प्रस्थान हुनेगरी नयाँ वायुसेवा कम्पनीहरुलाई वायुसेवा सञ्चालन अनुमति प्रदान नगर्ने व्यवस्था गरेको पोखरेलले बताए। 

प्राधिकरणले ‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। तर, हाल सञ्चालन आधार रहेका कुनै वायुसेवा कम्पनी बन्द भएमा वा सञ्चालन आधार अन्यत्र स्थानान्तरण गरेको अवस्थामा भने वायुयानको क्षमता मूल्यांकन गरेर मात्रै नयाँ अनुमति दिन सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्