प्रदेश ३ भाैतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाउने तयारी



काठमाडौं : प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले जिम्मेवारी सही ढंगले पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप लागेकाे छ । यसै कारण उनलाई मन्त्री पदबाट हटाउनसमेत लागिएको जानकारी प्राप्त भएकाे छ ।

 

बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकमा स्थापित मुख्यमन्त्री डोरमणि पौडेलसँग अस्वाभाविक ढंगले प्रस्तुत भएका थिए । पहिले पनि यसरी नै अभद्र ढंगले प्रस्तुत भएका उनले पुन मुख्यमन्त्रीको अपमान गरेपछि उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको स्रोतले जनाएको छ ।

 

स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउँदै छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेतृत्वसँग यसबारे छलफल गरिने स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् ।

 

एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो । यसरी काम गर्न सकिन्न ।’

 

पार्टी अध्यक्षलाई भेटेर कि हटाउने अनुमति दिन कि त आत्मालोचनासहित काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिने स्रोतले जनाएको छ । मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालयको काम केही नभएको र १७ करोड बजेट भएको मन्त्रालयको प्रगति नदेखिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाउन लागिएको स्रोतको दाबी छ ।

 

संविधानअनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन्, तर पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय लिन लागिएको पौडेलनिकट स्रोतले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्