लुम्बिनीमा भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा



बुटवल : राष्ट्रिय सभाको लुम्बिनी प्रदेशअन्र्तगत रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् ।
मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मत गणना सुरु हुने छ ।

प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी पूरा भएको कुंवरले बताए । मतगणना सुरु भएको एक घण्टामै परिणाम आउने कुंवरले बताए ।

निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव(बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

प्रतिक्रिया दिनुहोस्