
कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चार जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ ।
महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना सङ्कलन गरी पठाएका छौँ उनले भने, नमूना सङ्कलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन । अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले बताए । हत्याको घटनाको गहनरुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उनको भनाइ छ ।
यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ । डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो ।